२०८३ वैशाख १६ , बुधबार

विस्थापित सुकुम्बासीलाई वर्षाले पीडा, पुनर्वास र रोजगारीमा जोड



 

काठमाण्डौ :काठमाण्डौ उपत्यकामा अतिक्रमित बस्ती हटाउने क्रममा विस्थापित भएका सुकुम्वासीलाई वर्षाले थप पीडा दिएको छ । काठमाण्डौ महानगरपालिका–९ गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा भत्काइएपछि खुला आकाशमुनी बस्न बाध्य भएका परिवारका लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोगका सामग्री वर्षाले भिजाउँदा उनीहरु  समस्यामा परेका हुन् ।

बस्ती हटाइएपछि धेरै परिवारले अस्थायी रूपमा चौर तथा खुला ठाउँमा सामान राखेका थिए । हिजो परेको पानीले सामग्री भिजाउँदा उनीहरू थप समस्यामा परेका हुन् । सुरक्षित भण्डारण, त्रिपाल वा अस्थायी आश्रयको अभावले थप समस्या भएको छ । सरकारी तथ्यांकअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न चार ठाउँमा एक हजारभन्दा धेरै घरटहरा भत्काइसकिएको छ ।

थापाथली, गैरीगाउँ–बानेश्वर, सिनामङ्गल–जडिबुटी र भक्तपुरको मनोहरा क्षेत्रका केही संरचना हटाउन बाँकी छ । थापाथलीमा बागमती किनारमा रहेका १४३ घरटहरा हटाइएपछि ३४ परिवारका १ सय १५ जनालाई कीर्तिपुरको राधास्वामी सत्सङ्ग भवनमा अस्थायी रूपमा राखिएको छ । गैरीगाउँ–बानेश्वर क्षेत्रमा धेरै संरचना हटाइसकिएको छ भने केही पक्की घर अझै बाँकी छन् ।

भक्तपुरको मनोहरा क्षेत्रमा पनि धेरै संरचना हटाइएको छ । त्यहाँ झण्डै ७० प्रतिशत घरटहरा भत्काइएको छ भने बाँकी संरचना हटाउने कार्य हिजोको वर्षाका कारण स्थगित गरिएको छ । सरकारले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने र आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

घरबारविहीन बनेका नागरिकका लागि अस्थायी रूपमा दशरथ रङ्गशाला तथा अरु होल्डिङ सेन्टरमार्फत खानपान र बसोबासको व्यवस्था मिलाइएको छ । आवश्यक परे होटल तथा लजमा बस्ने व्यवस्था पनि गरिएको सरकारको भनाइ छ । विस्थापित बालबालिकामा पर्न सक्ने मनोसामाजिक असरलाई ध्यानमा राख्दै काठमाण्डौ महानगरपालिकाले खेल तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यद्यपि, पुनःस्थापनाको दीर्घकालीन योजना स्पष्ट नहुँदा विस्थापित नागरिकहरू अन्योलमा छन् ।

सरोकारवालाहरूले अतिक्रमण हटाउने कार्यसँगै व्यवस्थित पुनर्वास, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । काठमाण्डौ उपत्यका विकास प्राधिकरणका अनुसार वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकाको इचङ्गुनारायणमा बनाइएको एकीकृत आवास आयोजना भवनमा राखिनेछ ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार
अरु पनि पढ्नुहोस्