२०८३ वैशाख १६ , बुधबार

वन्यजन्तुमैत्री संरचना अभावमा सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर जोखिमपूर्ण



बाँके :  बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर वन्यजन्तुमैत्री नहुँदा बन्यजन्तुहरु अकालमा मर्ने क्रम बढ्दो छ । विशेषगरी गर्मीयाम शुरु भएसँगै पानीको खोजीमा नहरसम्म पुग्ने वन्यजन्तु त्यहीँ फसेर मर्ने गरेका छन् ।

नहरको धेरै भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम अझ बढेको छ । डिभिजन वन कार्यालयका अनुसार हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु दुर्घटनामा पर्ने गरेका छन् ।

सूचना अधिकारी टङ्क गुरुङका अनुसार हालै मात्र हरलाफाँटा सामुदायिक वन क्षेत्रमा एकैदिन चार वटा चित्तल नहरमा फसेका थिए । स्थानीय, वन कर्मचारी र निकुञ्जका सुरक्षाकर्मीको संयुक्त प्रयासमा उनीहरूको सकुशल उद्धार गरी पुनः सुरक्षित वन क्षेत्रमा छाडिएको थियो ।

यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियाको नहरमा फसेको एक मृगको अवैध सिकार गरी मासु बाँडफाँट गर्दै गरेका तीन जनालाई नियन्त्रणमा लिइएको थियो । त्यो घटनाले नहरमा फस्ने वन्यजन्तु चोरी सिकारीको निशाना बन्ने जोखिमसमेत देखाएको छ ।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन क्षेत्रमा फैलिएको डढेलोका कारण पनि वन्यजन्तुहरू भाग्दै नहरमा फस्ने घटना बढेका छन् । चित्तल, मृग, नीलगाई र बँदेलजस्ता जनावरहरू अत्यधिक प्रभावित भएका छन् ।

वन क्षेत्रमा वन्यजन्तुलाई लक्षित गरी बनाइएका पानीका पोखरीहरू पर्याप्त छैनन् । त्रिशक्ति र भगवती सामुदायिक वनमा पोखरी भए पनि ती सीमित मात्रामा प्रभावकारी छन् । साथै, नहरमा बनाइएका पानी पिउने घाटहरू सुरक्षित र भरपर्दा नरहेको स्थानीयको गुनासो छ ।

स्थानीय अगुवा मदन वलीका अनुसार समस्या समाधानका लागि गुणस्तरीय घाट निर्माण गर्नुका साथै नहरको दुवैतर्फ तारजाली जडान गर्न आवश्यक छ ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार
अरु पनि पढ्नुहोस्