२०८३ वैशाख १६ , बुधबार

सिम्ताका दुई वडामा खानेपानी योजनाको सुचारुपना सार्बजनिक सुनुवाई सम्पन्न




सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकामा खानेपानी तथा सरसफाई योजनाको सुचारुपना र दीगोपनाका लागि खानेपानी तथा सरसफाई योजनाका सरोकारवालाहरुको जवाफदेहिता अभिबृद्धिका लागि सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सम्बन्धित वडा कार्यालयको आयोजना, सुन्दर नेपाल संस्थाको सहजिकरण तथा हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सिम्ताका वडा नं. १ र ९ मा सुचारुपना सार्बजनिक सुनुवाई गरिएको हो । सार्बजनिक सुनुवाईका क्रममा अधिकांस खानेपानी योजना बन्ने तर छोटो समय पनि राम्रोसम्म सञ्चालन नहुने तथा दीगो रुपमा सञ्चालन नहुने समस्या देखिएको छ । यस्तै धेरैजसो योजनाका समितिको नियमित बैठक नबस्ने, साधारणसभा नहुने, मर्मत संभार कोष सञ्चालन नगरेका पाइएको छ । जसले गर्दा योजना राम्रोसँग सञ्चालन नहुनुका साथै दीगोपनाका लागि समस्या देखिएको छ ।
वडा नं. ९ मा बैशाख ११ गते र वडा नं. १ मा बैशाख १३ गते सुचारुपना सार्बजनिक सुनुवाई सम्पन्न भएको हो । यसैबीच आगामी दिनमा खानेपानी योजनालाई राम्रोसँग सञ्चालन गर्न तथा दीगोपनाका लागि सरोकारवालाहरुले विविभन्न प्रतिवद्धता जनाएका छन् । सम्बन्धित वडामा रहेका खानेपानी योजनाहरुको विवरण अध्यावधिक गर्ने, खानेपानी योजनाको मुहानसहित पालिका स्तरी जलस्रोत समितिमा दर्ता गर्ने, नियमित बैठक, साधारणसभा गर्ने प्रतिबद्धता गरिएको छ । साथै आवश्यक प्रक्रिया पूरा गरेपछि योजनाको मर्मतका लागि वडा, गाउँपालिका तथा साझेदार संघ संस्थाबाट सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।
वडा नं. ९ का अध्यक्ष कविराज योगीले खानेपानी योजना निर्माण गरिकेपछि राम्रोसँग सञ्चालन नहुँदा वडावासीमा खानेपानी समस्या अन्त्य गर्न नसिकएको बताए । उनले आगामी दिनमा नयाँ योजना भन्दा पनि निर्माण भैसकेका योजनाको मर्मत र दीगोपनाका लागि कार्यक्रम बनाउने बताए । वडा नं. १ का अध्यक्ष यामराज शर्माले खानेपानी योजनाको राम्रोसँग सञ्चालन तथा दीगोपनाका लागि योजनाका समिति विशेष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले अत्यावश्यक ठाउँमा नयाँ योजना निर्माणका साथ साथै बनिसकेका योजनाको मर्मतमा प्राथमिकता दिने बताए ।


कार्यक्रममा हेल्भेटास नेपालका संस्थागत विकास विज्ञ अकल शाहले खानेपानी योजनाको १५ देखि २५ बर्ष सञ्चालन अवधि हुनेगरी डिजाइन गरिने भएपनि निर्माण सम्पन्न पश्चात राम्रोसँग सञ्चालन नहुँदा अधिकांस योजनाको दिगोपनामा समस्या देखिने गरेको बताए । खानेपानी योजनाहरुको सुचारुपना र दिगोपनामा सहयोग पु¥याउने उद्देश्यले हेलो धारा परियोजना सञ्चालन भैरहेको उनले बताए ।
खानेपानी योजनाको सुचारुपना र दिगोपनाका लागि योजनाको समिति र स्थानीय सरकारको साझेदारीमा सुर्खेतको लेकवेशी र सिम्ता गाउँपालिकामा हेलो धारा परियोजनाले काम गरिरहेको सुचारुपना तथा मर्मत संभार संयोजक नेत्र विक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार
अरु पनि पढ्नुहोस्