
नवराज रोकाय
सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुन लागेको ‘कर्णाली समृद्धि महोत्सव २०८२’ को उद्घाटन प्याराग्लाइडिङमार्फत पुष्पवृष्टि गरेर गरिने भएको छ । चैत ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
वीरेन्द्रनगर १४ वयलकाँडाबाट सञ्चालन हुने प्याराग्लाइडिङमार्फत महोत्सव उद्घाटनका क्रममा आकाशबाट पुष्पवृष्टि गरिनेछ । साथै, महोत्सव अवधिभर उडान गर्न चाहनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल परिसरमा महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, गीत–संगीत तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछन् ।
यसैगरी, स्थानीय उत्पादन, हस्तकला तथा उद्यमशील सामग्रीहरूको प्रदर्शन र बिक्रीका लागि विभिन्न व्यापारिक स्टलहरू राखिनेछन् । आयोजकका अनुसार महोत्सवले कर्णालीको पर्यटन, कला र संस्कृतिको प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्