
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम अहिले ललितपुरको एक होटलमा चलिरहको छ ।
सांसदहरूको काम, कर्तव्य, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको रास्वपाले जनाएको छ । अभिमुखीकरण आज र भोलि गरी दुई दिनसम्म चल्नेछ । अभिमुखीकरणमा संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकालगायतका विषयमा प्रशिक्षण दिइँदैछ ।
आजको कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुनु भएको छैन । उहाँहरू भोलिको कार्यक्रममा सहभागी हुने भनिएको छ ।
आज उपसभापतिसहित अन्य नेता तथा सांसदहरूको उपस्थिति रहेको छ । अभिमुखीकरणमा चुनावका बेला नागरिकसँग गरिएको प्रतिबद्धताबारे पनि प्रशिक्षण दिइँदैछ । सांसदहरूलाई प्रशिक्षण दिन संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा सांसदहरूलाई मोबाइल प्रयोग गर्न तथा तस्वीर खिच्न प्रतिबन्ध लगाइएको छ ।
यसैबीच कार्यक्रममा बोल्दै पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको आशा र विश्वास कायम राख्दै जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । उहाँले नागरिकलाई प्रत्यक्ष महसुस हुने गरी काम गर्ने सरकार गठन गरी भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस्तै अर्का उपसभापति स्वर्णिम वाग्लेले झन्डै दुईतिहाइ बहुमतको विश्वास जोगाउँदै नागरिकको भरोसा कायम राख्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्