
रुकुम पश्चिम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकासँग सम्बन्धित घुस प्रकरणमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहलाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानबाट घुस लेनदेन भएको पुष्टि भएपछि दुवैजनामाथि कानुनी कारबाही अघि बढाइएको हो। अनुसन्धान विवरणअनुसार मोहन शाह विगत आठ वर्षदेखि करारमा कार्यरत थिए। उनले आफ्नो सेवा करार नवीकरण गराउन नगर प्रमुखले एक लाख रुपैयाँ मागेको आरोप लगाउँदै उजुरी दिएका थिए। उनले उक्त रकम दिन नसक्दा करार नवीकरण नगरिएको उल्लेख गरेका छन्।
उजुरीमा भनिएअनुसार आर्थिक वर्ष २०८१-८२ मा करार थप गर्दा रकम बुझाएपछि मात्र नवीकरण गरिएको थियो। तर २०८२-८३ का लागि पुनः एक लाख रुपैयाँ मागिँदा दिन नसक्दा उनलाई सेवाबाट हटाइएको थियो। उनले पहिलो पटक रकम जम्मा गरेको बैंक भौचरसमेत प्रमाणका रूपमा पेश गरेका थिए। आयोगले अनुसन्धानका क्रममा नगर प्रमुख वादीले आफ्नो पदको दुरुपयोग गर्दै करार नवीकरणको नाममा एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको जनाएको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको अपराध भएको ठहर गरिएको छ।
त्यस्तै, शाहले पनि करार अवधि थप गराउन २०८० साउन ८ गते नगर प्रमुखको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ। यस आधारमा उनलाई पनि घुस दिने कसुरमा दोषी ठहर गरिएको छ।आयोगले नगर प्रमुख वादीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफत गर्न माग गरेको छ। साथै पदमा रहँदा अपराध गरेको भन्दै थप सजायको मागसमेत गरिएको छ। शाहविरुद्ध पनि बराबरको जरिवाना, कैद सजाय र दिएको घुस रकम जफत गर्न माग गर्दै कानुनी कारबाही अघि बढाइएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्