सुर्खेत — सुर्खेतबाट सिकार खेल्न भन्दै जंगल गएका पाँच जना सम्पर्कविहिन भएका छन ।
गत फागुन २३ गते सिकार खेल्न गएका पाँच जना परिवारकाे सम्पर्कमा नआएपछि उनीहरुको खाेज गर्न थालिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्क विहिन हुनेहरुमा बराहताल–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बसोबास गर्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।
बराहताल गाउँपालिका–२ का आसे महतराले आफ्ना साला ३३ वर्षीय टोपबहादुर खत्रीसहित केही व्यक्तिहरू घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएको जानकारी दिएका थिए।
यसैबीच, संगै गएका सुनिल समसेलीकी आमाले टोपबहादुर खत्रीको मृत्यु भएको भन्ने सूचना पाएपछि महतराले उक्त विषयमा आज साेमबार प्रहरी चौकी रानीघाटमा जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ सत्यतथ्य बुझ्न प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । खाेजीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्