२०८३ वैशाख ५ , शनिबार

दुई सन्तानसहित महिला बेपत्ता, भेरी नदी किनारमा चप्पल र झाेला फेला पर्याे



सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी एक महिला आफ्ना दुई सन्तानसहित बेपत्ता भएकी छन्।

 ३८ वर्षीया माया कठायत ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दीपक कठायतसँगै आइतबार बिहान करिब ७ बजे घरबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

उनका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायतले आइतबार साँझ करिब ६ बजे प्रहरी चौकी गुमीमा खाेजिका लागि खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानीय वडा अध्यक्षसहितको टोलीले खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा घरबाट करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको तर तीनै जना अझै फेला नपरेको प्रहरीले जनाएको छ।

हाल भेरी नदी आसपासका क्षेत्रमा मातहतका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूबाट खटिएका करिब ३५ जना प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास जारी राखेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीले उनीहरूबारे कुनै जानकारी वा खबर भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार
अरु पनि पढ्नुहोस्