काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहक स्वयंले बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको हो ।
बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर यो सुविधा ल्याएको हो ।
ग्राहकले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहजै बैंक खाता खोल्न सक्नेछन् ।
यसरी खाता खोल्ने क्रममा सम्पूर्ण विवरण किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजात प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।
यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिटजस्ता सेवा उपलब्ध गराइरहेको थियो ।
भविष्यमा यस्ता सेवालाई बैंकले अरू स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।
प्रतिक्रिया दिनुहोस्