दैलेख। दैलेखको दुल्लु नगरपालिकामा ‘नागरिक सहभागिता र सामाजिक जवाफदेहितासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहको नीति निर्माण, योजना तर्जुमा, बजेट विनियोजन तथा निर्णय प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) को आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानअन्तर्गत प्रो पब्लिकको अगुवाइमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा निड्स नेपाल र सुशासन प्रवर्द्धनका लागि युवा संस्था, सुर्खेतले सहकार्य गरेका थिए ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख बिना कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक परियार, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुख गरी २२ जनाको सहभागिता थियो।
कार्यक्रममा लैङ्गिक समानता, सामाजिक न्याय, निर्णय प्रक्रिया, योजना तर्जुमा र बजेट विनियोजनमा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको अर्थपूर्ण सहभागिता र नीतिगत तहमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले नागरिक सहभागिता र सामाजिक जवाफदेहितालाई संस्थागत गर्न प्रस्तावित निर्देशिकाको भूमिका तथा यसको प्रभावकारी कार्यान्वयनका विषयमा विचार राखेका थिए।
सुशासन विज्ञ प्रणव भट्टराईले निर्देशिकाको मस्यौदामा समेटिएका प्रमुख प्रावधानबारे प्रस्तुतीकरण गर्दै नागरिक सहभागितालाई कानुनी तथा संस्थागत रूपमा अगाडि बढाउन निर्देशिकाले महत्त्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। उहाँले निर्देशिका नगरपालिकाबाट पारित भएपछि स्थानीय नागरिकको साझा दस्तावेजका रूपमा स्थापित हुने र यसको कार्यान्वयनमा नागरिकको अपनत्व बढ्ने धारणा राख्नुभयो।
कार्यक्रममा प्रो पब्लिकका टिम लिडर पोष्ट केसीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै जनमुखी नीति र विधिअनुसार स्थानीय सरकार सञ्चालन हुँदा जनप्रतिनिधि तथा कर्मचारीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने बताउनुभयो। उहाँका अनुसार विकास निर्माणका योजना तथा कार्यक्रमप्रति स्थानीय नागरिकको स्वामित्व र अपनत्व बढाउन, समावेशी शासन प्रणालीलाई बलियो बनाउन तथा लैङ्गिकमैत्री शासन व्यवस्थाको प्रवर्द्धन गर्न नागरिक सहभागिता आवश्यक छ।
कार्यक्रमको अन्त्यमा नगरप्रमुख भरत रिजालले नगरपालिकाकै अनुरोधमा निर्देशिकाको मस्यौदा तयार गरिएको उल्लेख गर्दै यसको निर्माणमा सहयोग गर्ने प्रो पब्लिक, सुशासन प्रवर्द्धनका लागि युवा संस्था, सुर्खेत तथा यूएन वुमनप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विज्ञता र अनुभव भएका संस्था तथा व्यक्तिसँगको सहकार्यलाई नगरपालिकाले महत्त्व दिने बताउनुभयो।
नगरप्रमुख रिजालले मस्यौदालाई आगामी कार्यपालिका बैठकबाट आवश्यक संशोधनसहित पारित गरी १५ दिनभित्र राजपत्रमा प्रकाशित गर्ने र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दुल्लु नगरपालिकाका स्रोत व्यक्ति रमेशप्रसाद उपाध्यायले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीय शासनमा नागरिकको पहुँच, सहभागिता र सामाजिक जवाफदेहितालाई संस्थागत गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। निर्देशिका कार्यान्वयनमा आएमा स्थानीय तहको योजना तथा निर्णय प्रक्रियामा महिला र पछाडि पारिएका समुदायको सहभागिता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्