२०८३ असोज २८ , बुधबार

सिम्तामा ३७औँ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो



सुर्खेत । ‘उत्थानशीलताको सुरुवात घरबाटै हुन्छ’ भन्ने नाराका साथ ३७औँ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस सिम्ता गाउँपालिकामा मनाइएको छ।

सन् २०२६ अक्टोबर १३ अर्थात् २०८३ असोज २७ गते मंगलबार सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित जामुने बजारमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

सुशासन प्रवर्द्धनका लागि युवा संस्था, सिम्ता गाउँपालिका र टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, व्यवसायी तथा समाजसेवी गरी करिब ४५ जनाको सहभागिता रहेको थियो।

विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने, सुरक्षित समुदाय निर्माण गर्ने र विपद् उत्थानशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका सहभागीले विभिन्न जनचेतनामूलक नारा तथा सन्देश लेखिएका ब्यानर र प्लेकार्डसहित जामुने बजार परिक्रमा गरेका थिए। बजार परिक्रमाका क्रममा ‘सुरक्षित घर, सुरक्षित परिवार’, ‘आजै गरौँ तयारी, सुरक्षित बनाऔँ जिन्दगानी’, ‘विपद् जोखिम घटाऔँ, सुरक्षित समाज निर्माण गरौँ’ र ‘विपद् जोखिम न्यूनीकरण हामी सबैको जिम्मेवारी’ जस्ता सन्देशमार्फत सर्वसाधारणलाई सचेत गराइएको थियो।

त्यसैगरी ‘विपद्को पूर्वतयारी आजैदेखि सुरु गरौँ’, ‘जोखिमको पहिचान गरौँ, क्षति हुनबाट बचाऔँ’ र ‘विपद्बाट बच्ने उपाय सिकौँ र अरूलाई पनि सिकाऔँ’ जस्ता नारामार्फत विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गरिएको थियो।

बजार परिक्रमा कोणसभामा परिणत भएपछि सहभागीहरूले अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको महत्त्व, आवश्यकता तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानी र योजनाबारे चर्चा गरेका थिए।

विपद् जोखिम न्यूनीकरणका लागि घरपरिवारबाटै पूर्वतयारी सुरु गर्नुपर्ने, सम्भावित जोखिमको पहिचान गर्नुपर्ने तथा विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपायबारे समुदायलाई जानकारी गराउनुपर्ने विषयमा कार्यक्रमले जोड दिएको थियो।

विपद् जोखिम न्यूनीकरण केवल सरकारी निकायको जिम्मेवारी नभई प्रत्येक व्यक्ति, परिवार र समुदायको साझा दायित्व भएकाले स्थानीयस्तरबाटै सचेतना र तयारीका गतिविधिलाई निरन्तरता दिनुपर्ने सन्देशसहित कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार
अरु पनि पढ्नुहोस्