सुर्खेत । त्रिभुवन विश्वविद्यालयले पहिलोपटक काठमाडौं बाहिर दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालयले आगामी मंसिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
यसअघि त्रिभुवन विश्वविद्यालयले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा मात्रै दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो । अब काठमाडौं बाहिरका विभिन्न स्थानमा समेत कार्यक्रम गर्ने नीति लिएसँगै कर्णालीका विद्यार्थीलाई लक्षित गरी सुर्खेतमा समारोह आयोजना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहको तयारीका क्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापासहितको टोलीले मंगलबार सुर्खेत बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गरेको छ । टोलीमा रजिस्ट्रार डा. रविन्द्र सिवाकोटी, परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेललगायत सहभागी थिए । निरीक्षणका क्रममा कर्णाली प्रदेशमा रहेका क्याम्पसका प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।
टोलीले दीक्षान्त समारोह आयोजना गर्ने स्थलको अवस्था र आवश्यक तयारीबारे जानकारी लिएको छ । सो अवसरमा विश्वविद्यालयका कार्यक्रमहरू कर्णाली प्रदेशमा विस्तार गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधवप्रसाद खनालका अनुसार २०८२ साउनदेखि २०८३ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुनका लागि फाराम भर्न सक्नेछन् ।
कर्णालीमा पहिलाे पटक हुन लागेकाे त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले कर्णाली प्रदेशका विद्यार्थीलाई सहज रूपमा दीक्षित हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्