
सुर्खेत । चाडपर्व तथा आगामी मंसिरमा हुने राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
नगरपालिकाको उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख दिपेन सुवेदीको नेतृत्वमा बुधबार वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको हो ।
नगरपालिकाको बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारकर्मी, उद्योग वाणिज्य संघलगायतका प्रतिनिधि सहभागी थिए ।
टोलीले २२ वटा व्यवसायमा अनुगमन गरेको छ । अनुगमन गरिएका व्यवसायमध्ये १८ वटा मासु पसल, ३ वटा मार्ट र एउटा होमस्टे रहेका छन् । टोलीले खाद्य वस्तुको स्वच्छता, मासु पसलको सरसफाइ, ढक–तराजुको प्रयोग तथा व्यवसाय दर्ता र नवीकरणलगायतका विषयमा निरीक्षण गरेको थियो ।

मासु पसलमा कुखुरा, खसी तथा राँगाको मासु छुट्टाछुट्टै र स्वच्छ ढंगले राख्नुपर्ने, पसलमा सरसफाइ कायम गर्नुपर्ने तथा ढक–तराजु दर्ता तथा नवीकरण गर्नुपर्ने विषयमा व्यवसायीलाई निर्देशन दिइएको सुवेदीले बताए ।
त्यस्तै, व्यवसाय दर्ता तथा नवीकरण नगरेका व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ । खाद्य तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तरमा समेत विशेष ध्यान दिन अनुगमन टोलीले व्यवसायीलाई निर्देशन दिएकाे छ ।
सुवेदीका अनुसार चाडपर्वको समयमा बजारमा उपभोक्ताको चाप बढ्ने भएकाले खाद्य स्वच्छता, मूल्य, नापतौल र व्यवसाय सञ्चालनको अवस्थालाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिइनेछ ।
बजार अनुगमन निर्देशक समितिका संयोजक एवं नगर उपप्रमुख निलकण्ठ खनालको अध्यक्षतामा मंगलबार बसेको संयुक्त बैठकले चाडपर्व र राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै नियमित बजार अनुगमन गर्ने निर्णय गरेको थियो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी डीलबहादुर कार्कीसमेत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्