सुर्खेत : यसपालीको दशैँ घमाइलो हुने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलका अनुसार अहिलेको पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपालीको दशैँ घमाइलो हुने सम्भावना धेरै छ ।
अर्को प्रणाली तत्काल नआएसम्म दशैँमा पानी नपर्ने उनले सुचनामार्गलाई जानकारी दिए । तर यसपालिको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैँसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको पनि उनले बताए । यसपालिको दशैँ आउँदो आइतबार घटस्थापनादेखि शुरु हुँदैछ । केही दिनयता देशको पूर्वी र मध्य भेगमा मनसुनी वायू तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय छ ।
पश्चिमी भेगबाट मनसुन बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना छ । तर मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने गर्छ । अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर र आफ्नो ठाउँको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद पोखरेलको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्