२०८३ असोज २४ , शनिबार

मुगुमा हिमपहिरोमा पुरिएका युवकको शव ल्याउन सुरक्षाकर्मी परिचालन



हुम्ला र मुगु जिल्लाको सिमावर्ती क्षेत्र मिमी पाटनस्थित हिँउपहिरोमा परेर मृत्यु र बेपत्ता भएकाहरूको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् । गत २८ भदौमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका– ९ का अङ्गबहादुर रोकाया र ललितजंग बडुवालसहित १३ जना हुम्लाको चंखेली गाउँपालिका– २ र मुगुम कार्मारोङ गाउँपालिका– ७ को सिमावर्ती क्षेत्र मिमी वनमा जडीबुटी संकलन गर्न पुगेका थिए । वनमा जडीबुटी संकलन गर्नेक्रममा चंखेलीका– २ का स्थानीयसँग झडप भएपछि भाग्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए ।

खोजीको क्रममा बेपत्तामध्ये रोकायाको शव भेटिएको हो । घटनास्थलमा पाँच फिटसम्म हिउँ जमेर रोकायाको शव ल्याउन कठिनाइ भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेकाले रोकायाको शव ल्याउन र बेपत्ता बडुवालको खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएकाे छ।

कार्यालयका अनुसार रोकायाको शव हुम्लाको चंखेली गाउँपालिका– २ र मुगुको सीमास्थित मिमी पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा शनिबार (१७ असोज)  दिउँसो १२ः२० बजे फेला परेको थियो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार (१९ असोज) नेपाली सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका ६ गरी २० जनाको संयुक्त उद्धार टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यस क्षेत्रमा पछिल्लो समय परेको बाक्लो हिउँका कारण टोलीलाई घटनास्थलसम्म पुग्न कठिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाको शवलाई स्थानीयले कम्मलले छोपेर वरिपरि ढुंगा राखी सुरक्षित गरेका छन ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार
अरु पनि पढ्नुहोस्