२०८३ असोज २४ , शनिबार

५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण



काठमाण्डौ । सरकारले अहिलेसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरेको जनाएको छ । विभिन्न जिल्लामा सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको प्रधानमन्त्री वालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्।

प्रधानमन्त्री शाहले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरणको काम भइसकेको उल्लेख गरेका छन्। भूमि समस्या समाधान समितिमार्फत देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको र अहिलेसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन् । ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ । सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त ठाउँमा बसेका भूमिहीनलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

काठमाण्डौ उपत्यकाबाट विस्थापित परिवारलाई उनीहरूको स्थायी ठेगाना भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने तयारी गरिएको प्रधानमन्त्री शाहले बताए । भूमिहीन भएको झुटो विवरण दिनेहरूको अभिलेख हेरेर आवश्यक कानुनी कारबाही अघि बढाइएको समेत सरकारले जनाएको छ । भूमि सम्बन्धी ऐन, वन ऐनलगायत कानुनमा आवश्यक सुधार गरी प्रक्रिया थप सहज बनाउने तयारीसमेत भइरहेको छ । सरकारले चुनावअघि गरेको प्रतिबद्धताअनुसार १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार
अरु पनि पढ्नुहोस्