
सुर्खेत, १८ असोज ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना मूल समितिको बैठक आयोजना स्थल सुर्खेतमा सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलको अध्यक्षतामा आइतबार बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । समितिले सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमलाई सहभागी गराउने, ३२ खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने र निजी क्षेत्रसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार सहकार्य गर्ने निर्णय गरेको हो । प्रचार प्रसार उपसिमितका संयोजक मोनालिसा खम्बुका अनुसार प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मतसम्भारलाई प्राथमिकता दिने निर्णय पनि गरिएको छ । खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने र प्रतियोगिताको प्रचारप्रसारमा सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै, निजी क्षेत्र, संघसंस्था तथा स्थानीय तहलाई प्रतियोगितामा जोड्दै प्रायोजकसँग एमओयू गर्ने निर्णय भएको छ । प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ अनुसार विभिन्न विषयगत उपसमिति गठन गर्ने र प्रतियोगिता आयोजना तथा व्यवस्थापनका आवश्यक काम अघि बढाउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरिएको संयोजक खम्बुले जानकारी दिइन ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगिता अन्तर्गतका विभिन्न खेलहरु कर्णालीका पाँच जिल्लामा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहताले ३२ खेल मध्य कम्तिमा २८ खेल कर्णालीमै हुने र केही खेल पूर्वाधार अभावमा लुम्विनी प्रदेशको नेपालगञ्जमा आयोजना हुने जानकारी दिए । सदस्य सचिव मेहताका अनुसार धेरै जसो खेल सुर्खेतमा आयोजना हुनेछन भने केही खेल दैलेख, कालिकोट, जुम्ला, सल्यान र जाजरकोटमा आयोजना गरिनेछ । प्रतियोगिताको तिब्र तयारी भैरहेको भन्दै अब कुनै ठूलै विपत्ती आएको अवस्थामा बाहेक मंसिरमै प्रतियोगिता हुनेमा ढुक्क रहन सदस्य सचिव मेहताले आग्रह गरे । यस अघि पटक पटक मिति तोकिएपनि प्रतियोगिता सर्दै आएको छ । प्रतियोगिताको तयारीका लागि सोमबार सचिवालय स्थापना गरिने छ । खेलकुद विकास परिषद कर्णालीका सदस्य सचिव रविन चन्दले कर्णाली दशौँ राष्ट्रिय प्रतियोगिताको बेग्र प्रतिक्षामा रहेको बताए । प्रतियोगितालाई कर्णालीले एउटा उत्सवका रुपमा लिएको बताए ।
प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्