काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ । काठमाण्डौको खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ । प्रतिनिधिको आवास व्यवस्थापन काठमाण्डौका विभिन्न होटलमा गरिएको बताईएकाे छ।
आजको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरू एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलाई निमन्त्रणा गरेको कांग्रेसले जनाएकाे छ ।
यसैगरी भारत, चीन र अमेरिकासहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कुटनीतिज्ञ सहभागी हुँदैछन् । तालिकाअनुसार महाधिवेशनको बन्दसत्र भोलि र पर्सि चल्नेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक तथा नीतिगत दस्तावेज प्रश्तुत गर्नुहुनेछ भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । नयाँ नेतृत्व चयनका लागि पर्सि उम्मेदवारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ । मतदान प्रक्रिया २१ र २२ गते सम्पन्न हुने तालिका छ ।
निर्वाचन समितिका अनुसार मतदान कार्यलाई सहज बनाउन खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीन फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन् ।


प्रतिक्रिया दिनुहोस्