सुर्खेत । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि सुर्खेतका उद्यमी दम्पतीले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । लामो समयदेखि सुर्खेतमा रहेर विभिन्न व्यवसाय गर्दै आएका दीपक बुढाक्षेत्री र हिमाकुमारी उपाध्यायले बाढीपीडितका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । बिहीबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम बुझाइएको बुढाक्षेत्रीले जानकारी दिए ।
सहयोग गरिएको रकममध्ये सबैभन्दा बढी ३ लाख ११ हजार १११ रुपैयाँ भवानी छापाखाना सुर्खेतबाट उपलब्ध गराइएको छ । त्यस्तै राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८, राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८०, राष्ट्रिय युवा प्रतिभा सम्मान २०८१ र उत्कृष्ट महिला उद्यमी सम्मान २०८२ बाट प्राप्त १–१ लाख रुपैयाँ गरी पुरस्कार तथा सम्मानबापतको ४ लाख रुपैयाँसमेत सहयोग गरिएको छ । त्यसैगरी गंगामाला ट्राभल्स एन्ड टुर्स प्रालि, युगआह्वान दैनिकरअल्फा कम्युनिकेसन कर्नर, रारा प्रिन्टिङ प्रेस प्रालि र एस मल्टि बिजनेस प्रालिबाट १–१ लाख रुपैयाँ सहयोग गरिएको बुढाक्षेत्रीले बताए ।
उनीहरूले राष्ट्रिय वाणिज्य बैंक र कनेक्टआईपीएसमार्फत विभिन्न पटक गरी रकम जम्मा गरेका छन् । त्यस्तै फोनपेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ पठाइएको छ । रकम जम्मा गरेको भुक्तानी विवरणसमेत उनीहरूले बुझाएका छन् । राहत रकम हस्तान्तरणसँगै बुढाक्षेत्री दम्पतीले अर्थमन्त्री वाग्लेसमक्ष कर्णालीको औद्योगिक तथा पूर्वाधार विकासका विषयमा सुझावसमेत दिएका छन् ।
उनीहरूले औद्योगिक क्षेत्रका उद्योग तथा प्रतिष्ठानलाई परियोजना बैंकमार्फत ऋण लगानीका लागि स्पष्ट कार्यविधि बनाउनुपर्ने सुझाव दिएका छन् । त्यस्तै महिला उद्यमशीलता विकास कोषबाट परिचालित कर्जाको सीमा १ करोड रुपैयाँ पुर्याउनुपर्ने र लगानीमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने उनीहरूको सुझाव छ । कर्णालीमा उद्योग तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच र लगानीको वातावरण बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नसमेत उनीहरूले अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्