
सुर्खेत । कर्णाली प्रदेशका चार स्थानीय तहमा सामाजिक जवाफदेहिताका औजार तथा अभ्यास र यसको महत्वसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
चौकुने गाउँपालिका, दुल्लु नगरपालिका, भैरबी गाउँपालिका र सानीभेरी गाउँपालिकामा असोज ५ देखि ९ गतेसम्म आयोजना गरिएको अभिमुखीकरणमा जनप्रतिनिधि तथा कर्मचारी गरी १ सय ३५ जनाको सहभागिता रहेको थियो । पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा विभागीय प्रमुखको विशेष उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
युरोपियन युनियन र यूएन वुमेनको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको ‘सशक्त महिला, समृद्ध नेपाल’ अभियानअन्तर्गत प्रो पब्लिकको अगुवाइमा निड्स नेपाल र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीलाई सामाजिक जवाफदेहिताका औजार, तिनको प्रयोग तथा महत्वबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, नागरिक वडापत्र, नागरिक प्रतिवेदनपत्र, सूचनाको हक, गुनासो व्यवस्थापन संयन्त्र, सहभागितामूलक योजना तर्जुमा तथा लैङ्गिकमैत्री बजेट निर्माणलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । प्रस्तुतीकरण, प्रश्नोत्तर तथा दोहोरो संवादका माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा सहभागीले स्थानीय सरकारको सेवा प्रवाह र जवाफदेहितासम्बन्धी विभिन्न जिज्ञासा तथा प्रश्न राखेका थिए ।

प्रो पब्लिकका टिम लिडर पोष्ट केसीले सामाजिक जवाफदेहिताका औजारलाई महिला तथा पछाडि पारिएका समूह, दलित, जनजाति, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्तिका सवालसँग जोड्नुपर्नेमा जोड दिए । उनीहरूले भोग्दै आएका समस्या र सवाललाई सामाजिक जवाफदेहिताका औजारमार्फत बहसमा ल्याउन सके स्थानीय सरकारले प्रवाह गर्ने सेवामा पारदर्शिता र जवाफदेहिता बढ्नुका साथै निर्णय तहमा महिलाको पहुँच अभिवृद्धि गर्न र लैङ्गिक समानता तथा लैङ्गिकमैत्री सार्वजनिक सेवा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विकले सामाजिक जवाफदेहिताका औजारको आंशिक रूपमा अभ्यास हुँदै आए पनि महिला, पछाडि पारिएका वर्ग तथा दलितका सवालमा केन्द्रित भएर यस्ता अभ्यासलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
दुल्लु नगरपालिकाका प्रमुख भरतराज रिजालले लैङ्गिक समानता कायम गर्न सामाजिक जवाफदेहितासम्बन्धी कार्यक्रम सबै वडामा सञ्चालन गर्नुपर्ने बताए । उनले नागरिकलाई सामाजिक जवाफदेहिताका औजार, यसको महत्व तथा नागरिकको दायित्वबारे जानकारी गराउन आवश्यक रहेको उल्लेख गरे । पालिकाले गर्ने काममा कमी–कमजोरी भए नागरिकले प्रश्न गर्ने र खबरदारी गर्ने अभ्यास विकास भए सार्वजनिक सेवामा सुधार आउने उनको भनाइ थियो ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले सामाजिक जवाफदेहिताका औजार सही रूपमा सञ्चालन गर्न सके कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्धमा सुधार आउने बताए । स्थानीय सरकारले महिला, पछाडि पारिएका वर्ग, दलित, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिका सवालमा पारदर्शिता र जनउत्तरदायित्व कायम गर्न नसके जनताले त्यसको जवाफ माग्ने उनको भनाइ थियो । उनले सामाजिक जवाफदेहिताका औजारलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन दाहालले अभिमुखीकरणले जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति थप उत्तरदायी हुन प्रेरित गरेको बताए । उनले सार्वजनिक सेवालाई प्रभावकारी तथा लैङ्गिकमैत्री बनाउन सामाजिक जवाफदेहिताका औजारलाई प्रभावकारी रूपमा अभ्यास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको निष्कर्षमा स्थानीय सरकारले सामाजिक जवाफदेहिताका औजारलाई नियमित रूपमा प्रयोग गर्न सके सार्वजनिक सेवाको गुणस्तर र प्रभावकारिता बढाउन, पालिकाको सार्वजनिक छवि सुधार गर्न, गुनासो न्यूनीकरण गर्न तथा सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिएको छ । कार्यक्रमको सहजीकरण परियोजनाका टिम लिडर पोष्ट केसी र परियोजना संयोजक घनश्याम केसीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्