२०८३ असोज २६ , सोमबार

भाेली पनि बर्षाको संभावना, कहिलेदेखि हुन्छ मौसममा सुधार ?



सुर्खेत । हाल देशभर भैरहेकाे मौसमी अवस्था अझै आइतबारसम्म कायमै रहने पूर्वानुमान गरिएको छ । मौसम विज्ञान विभागले शनिबार बेलुका जारी गरेकाे मौसमी बुलेटिन बमाेजिम सोमबारदेखि मात्र मौसममा सुधार आउने जनाइएकाे हाे । आज राती विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ।

यस्तै मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने कोशी प्रदेशमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमतीका हिमाली तथा पहाडी भू–भागका धेरै र कोशीका केही स्थानमा पनि यस्तै मौसम रहने पूर्वानुमान छ। यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका अधिकांश स्थानमा तथा मधेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

असोज ११ गते आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । सुदूरपश्चिमको तराईका धेरै तथा लुम्बिनीको तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ । आइतबार सुदूरपश्चिमका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आइतबार राति सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

सोमबारदेखि मौसममा क्रमिक सुधार

असोज १२ गते सोमबार दिउँसो भने देशभर आंशिक बदली रहने पूर्वानुमान छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। सोमबार राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार
अरु पनि पढ्नुहोस्