सर्खेत । देशभर आज अधिकांश भू–भागमा बादल लाग्ने तथा विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले विहान जारी गरेकाे बुलेटिन अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णालीका पहाडी भू–भागका अधिकांश स्थानमा तथा मधेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा पनि धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा राति हावाहुरी चल्न सक्ने पूर्वानुमान पनि गरिएको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास बलियो न्यून चापीय प्रणाली (Depression) रहेको छ ।
उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुँदै न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको विभागले जनाएको छ।
भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्