
दैलेख। महिला कानुन र विकास मञ्च र आवाज संस्थाको साझेदारीमा दैलेखको दुल्लु नगरपालिका–१३ मा नमुना मतदान अभ्याससहित मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ।
दुल्लु–१३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा दलित महिला, अपाङ्गता भएका महिला, एकल महिला तथा पहिलो पटक मतदाता परिचयपत्र बनाएका महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ५७ जनाको उपस्थिति रहेकोमा ३० भन्दा बढी दलित महिला तथा अन्य जनजाति र विभिन्न समुदायका महिलाहरू सहभागी भएका थिए।
कार्यक्रमको सुरुआत नमुना मतदान अभ्यासबाट गरिएको थियो। नमुना मतदानका क्रममा ५७ मत खसेकोमध्ये २० मत बदर भएका थिए भने बाँकी मत सदर भएका थिए। नमुना परिणाममार्फत मत कसरी बदर हुन्छ र बदर हुन नदिन के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा सहभागीलाई व्यवहारिक रूपमा जानकारी दिइएको थियो।
नमुना मतदानको सहजीकरण आवाज संस्थाका टिकराम आचार्यले गरेका थिए । नमुना अभ्यासपछि सहभागीलाई समूह विभाजन गरी मतपत्रमा सही तरिकाले स्वस्तिक छाप लगाउने अभ्यास गराइएको थियो। दोहोरो छाप लगाउने, रेखाभन्दा बाहिर छाप लगाउने तथा अनावश्यक चिन्ह लगाउँदा मत बदर हुने उदाहरण देखाउँदै सचेतना दिइएको आचार्यले जमनकारी दिए ।
उनका अनुसार मतदाता शिक्षा कार्यक्रम वीरेन्द्रनगर नगरपालिका–२, पञ्चपुरी नगरपालिका–६, बराहताल गाउँपालिका–८ र दुल्लु नगरपालिका–१३ मा सम्पन्न भइसकेको छ।
नमुना मतदानका क्रममा उल्लेख्य संख्यामा मत बदर भएको पाइएकोले लक्षित समुदायमा मतदाता शिक्षा अझै आवश्यक रहेको निष्कर्ष निकालिएको आचार्यले बताए। आयोजक संस्थाले आगामी दिनमा पनि महिला लक्षित मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्