सुर्खेत । अत्यधिक वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन पठनपाठन बन्द गर्न अनुरोध गरेको छ।
नगरपालिकाले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञबाट प्राप्त मौसमसम्बन्धी प्रारम्भिक अनुमानका आधारमा असोज ९ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा भई जोखिम आउन सक्ने सम्भावना देखिएको छ। यसैलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको असोज ७ गतेको सूचनाबमोजिम असोज ९ गते स्थानीय बिदासँग मिलान हुने गरी विद्यालयको पठनपाठन बन्द गर्न/गराउन नगरपालिकाले मातहतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई जानकारी गराएको हो ।
नगरपालिकाले बिदाको अवधिमा विद्यालय तथा विद्यालयको सेवा क्षेत्रमा हुनसक्ने सम्भावित विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्नसमेत विद्यालयहरूलाई अनुरोध गरेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थी, शिक्षक तथा विद्यालय समुदायको सुरक्षालाई ध्यान दिँदै विपद् जोखिमका बेला आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार


प्रतिक्रिया दिनुहोस्