सुर्खेत । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको ‘मनसुन सम्बन्धी विशेष बुलेटिन–३’ अनुसार उत्तर अन्डमान सागर तथा आसपासमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भागमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै डिप्रेसनमा परिणत भई पश्चिमोत्तर दिशातर्फ सर्दै गएको जनाइएको छ।
यस प्रणालीको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि क्रमिक रूपमा बढ्दै जाने महाशाखाको प्रक्षेपण छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
समग्रमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बाढी, पहिरो र डुबानको जोखिम
भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने जनाइएको छ। नदी तथा खोलाको किनारमा भइरहेका निर्माण कार्यमा समेत जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित निकायलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
किसान र पर्वतारोहीलाई विशेष सतर्कता
धानबाली भित्र्याउने समय रहेकाले किसानलाई मौसमसम्बन्धी जानकारी लिएर तथा कृषि विज्ञको सल्लाहअनुसार बाली व्यवस्थापन गर्न महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै, हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै मौसममा हुने परिवर्तनअनुसार नियमित रूपमा सूचना अद्यावधिक गरिने जनाएको छ। सर्वसाधारणलाई आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनी सूचनामा नियमित ध्यान दिनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्