काठमाण्डौ – काठमाण्डौको त्रिपुरेश्वरमा हिजो (सोमबार) बसमा भएको आगजनीबाट घाइते भएका चालकको उपचारका क्रममा मृत्यू भएको छ । कीर्तिपुरमा रहेको जलन अस्पतालमा उपचारको क्रममा चालकको मृत्यू भएको हो । आगोले चालकको शरीरको झण्डै ९० प्रतिशत भाग जलेको थियो ।
यसैबीच आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । बा ५ ख ४२७४ नम्बरको बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाण्डौका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन्।
त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसका चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो । यो विवादपछि चालकले बसमा आगजनी गरेको प्रहरीको भनाइ छ । छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र ७ दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रतिवेदन पेस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्