२०८३ भदौ २९ , सोमबार

सुशासन कायम गराउनु पहिलाे प्राथमिकता हाे: प्रजिअ सापकोटा




सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जिल्लामा सुशासन कायम गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले यसको सुरुवात जिल्ला प्रशासन कार्यालयबाटै गर्ने प्रतिबद्धता जनाएका छन् ।
केही दिन अघि मात्र सुर्खेतमा सरूवा भएर आएका प्रजिअ सापकाेटाले सोमबार जिल्लास्थित पत्रकारहरूसँगको भेटघाटमा  उपलब्ध स्रोतसाधन र जनशक्तिकै अधिकतम उपयोग गरी सरकारी सेवा प्रवाहमा सुधार गर्ने बताएका हुन । नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाहलाई सहज, प्रभावकारी र उत्तरदायी बनाउने उनको भनाइ छ ।
‘सुशासन कायम गराउनु मेरो पहिलो प्राथमिकता हो । यसको सुरुवात कार्यालयबाटै गर्छु,’ उनले भने, ‘भएका स्रोतसाधन र जनशक्तिबाटै सेवा प्रवाहमा सुधार गर्छौं ।’
उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने बताए । नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी सुरक्षा व्यवस्थापनमा ध्यान दिने उनको भनाइ छ ।
प्रजिअ सापकोटाले सुशासन, शान्ति सुरक्षा र विकासबीच समन्वय गरी अघि बढ्ने बताए । ‘सुशासन, शान्ति सुरक्षा र विकासमा समन्वय गरेर काम गर्नेछु,’ उनले भने ।
उनले जिल्लामा कालोबजारी, कृत्रिम अभाव तथा उपभोक्ता हितविपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । बजार अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउँदै नागरिकलाई सहज र सुरक्षित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध हुने वातावरण निर्माणमा प्रशासनले ध्यान दिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेतर्फ आफूले पदभार ग्रहण गरेदेखि नै काम थालेको उनले जानकारी दिए । सामान्य कामका लागि पनि सेवाग्राहीले प्रशासन कार्यालयबाहिर धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रयास थालेको उनको भनाइ छ ।
उनका अनुसार कार्यालयमा आएको पहिलो दिनदेखि नै सामान्य एक-दुई पेज फोटोकपी गर्नसमेत सेवाग्राही बाहिर जानुपर्ने बाध्यता हटाइएको छ । अब आवश्यक फोटोकपीको व्यवस्था जिल्ला प्रशासन कार्यालयभित्रैबाट हुने उनले बताए ।
‘सामान्य एक-दुई पेज फोटोकपी गर्नका लागि पनि सेवाग्राही बाहिर जानुपर्ने अवस्था रहेछ,’ उनले भने, ‘अब प्रशासन कार्यालयभित्रैबाट त्यसको व्यवस्था गरिएको छ ।’
प्रजिअ सापकोटाले जिल्लाको समग्र प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पत्रकार, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्रलगायत सबै पक्षसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार
अरु पनि पढ्नुहोस्