
सिम्ता ।
सुर्खेतकाे सिम्ता गाउँपालिकामा आठाैं गाउँपालिका विधालय स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियाेगिता सुरू भएकाे छ ।
गाउँपालिकाकाे आयाेजना तथा वागेश्वरी माध्यामिक विद्यालयकाे सह आयाेजनामा आजदेखि राकमस्थित वागेश्वरी माबिमा प्रतियाेगिता सुरू भएकाे हाे ।
प्रतियाेगिताकाे निवर्तमान सामाजिक विकास मन्त्री कर्णाली प्रदेशसभा सदस्य खड्ग पाेख्रेलले उद्घाटन गरेका छन । उद्घाटनका क्रममा पाेख्रेलले खेलकुदले ठाउँसँगै देशलाई नै चिनाउनसक्ने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी बन्ने साेच राखेर अगाडि बढ्न आग्रह गरे ।
गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले समृद्धिका लागि सबै क्षेत्रकाे विकास गर्न जरूरी रहेकाे बताए। सबै क्षेत्रलाई व्यवस्थित गर्न सकियाे भने मात्रै अघि सारेकाे समृद्ध सिम्ताकाे नारा साकार हुने उनले बताए ।
उपाध्यक्ष गाेमा शर्मा रेग्मीले खेलकुदले अनुशासित, कर्मठ र स्वाभिमानी बन्न प्रेरित गर्ने बताइन ।
प्रतियाेगितामा १२ वटा विद्यालय सहभागी रहेकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि बहादुर गाैतमले जानकारी दिए । आठ गतेसम्म सञ्चालन हुने प्रतियाेगिताबाट छनाैट भएका खेलाडीहरू जिल्ला स्तरीय प्रतियाेगितामा सहभागी हुनेछन ।
तीन वर्ष लगातार जित्ने विद्यालयले शिल्ड राख्न पाउने छ ।
प्रतियाेगितामा भलीवल, कपर्दी र एथलेटिक्स तर्फका खेल खेलाइनेछ ।
प्रतिक्रिया दिनुहोस्