२०८३ भदौ ११ , बिहीबार

२९ दिनपछि पायो कर्णाली सरकारले पूर्णता, नेकपाबाट तीन मन्त्रीले लिए शपथ



कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । नेकपाका मन्त्रीले शपथ लिएसँगै २९ दिनमा कर्णाली सरकारले पूर्णता पाएको छ ।

नवनियुक्त मन्त्रीहरूमा सबै महिला छन्, जसमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मिलन खड्का र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का छन् । खड्काद्वय रुकुम पश्चिमका हुन भने लामा हुम्लाकी हुन् ।

मुख्यमन्त्रीसहित चार मन्त्रालय पाएको नेकपाले पूर्वसमाजवादी धारकी कल्याणीलाई पनि मन्त्री बनाएको छ । समाजवादीले पार्टी एकताको सन्देश दिन आफूहरूलाई पनि मन्त्री दिनुपर्ने अडान लिँदै आएको थियो । १२ साउनमा नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मंगलबहादुर शाहीले २९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । एमालेसँग मन्त्रालय भागवण्डामा कुरा नमिल्दा शाहीले २३ दिनसम्म एक्लै सरकार चलाएका थिए । ३ भदौमा विश्वासको मत लिनुअघि एमालेसँग कुरा मिलेपछि शाहीले एमालेका तीन जनालाई आफ्नो क्याबिनेटमा लगेका थिए ।

सहमतिअनुसार एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए । यस्तै, एमालेका तर्फबाट जितबहादुर मल्ल सामाजिक विकास मन्त्रालय र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसयता आकांक्षी धेरै भएपछि शाहीले आफ्नै दलबाट मन्त्री नियुक्त गर्न सकेका थिएनन् । नेकपाभित्र मन्त्री छनोटमा विवाद भएपछि मुख्यमन्त्री शाहीले पुष्पकमल दाहल र माधव नेपाललाई गुहारेका थिए ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार
अरु पनि पढ्नुहोस्