
जाजरकोट ।
जाजरकोटको शिवालय गाउँपालिका ४ स्थित सरस्वती माध्यमिक विद्यालयमा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य र नवजात शिशु स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
समुदायमा रहेका किशोरीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने तथा स्वास्थ्यसम्बन्धी समस्याबारे सचेतना बढाउने उद्देश्यले सञ्चालन गरिएको सिफ्ट अभियानअन्तर्गत सोमबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो।
सेभ द चिल्ड्रेनको साझेदारीमा पहाडी क्षेत्र विकास अभियान जाजरकोट र सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको आयोजनामा साेमबार आयोजना गरिएकाे प्रतियोगितामा कक्षा ८, ९ र १० का पाँच समूहले सहभागिता जनाएका थिए।
प्रतियोगितामा किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य तथा नवजात शिशु स्वास्थ्यलगायत विषयमा प्रश्नहरू सोधिएको थियो ।
सिफ्ट अभियानले किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसँगै मातृ तथा नवजात शिशुको स्वास्थ्यबारे विद्यालय र समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको परियोजना संयोजक सुवास गिरीले बताए।
शिवालय गाउँपालिका स्वास्थ्य शाखाकी प्रतिनिधि तुलसा परियारले स्थानीय तहबाट किशोरी, मातृ तथा नवजात शिशु स्वास्थ्यका लागि प्रदान गरिने सेवाबारे विद्यार्थीलाई जानकारी गराएकी थिइन्।

विद्यालयमा आयोजना गरिएको हाजिरीजवाफले किशोर–किशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी बढाउनुका साथै समुदायमा समेत सकारात्मक धारणा निर्माण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
विद्यालयकी प्रधानाध्यापक जानकारी कुमारी खत्रीले विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीले स्वास्थ्यसम्बन्धी विषयमा खुलेर जानकारी लिन पाउने र व्यवहारिक ज्ञानसमेत हासिल गर्ने बताइन्।
जाजरकाेटसहित कालिकोट र जुम्लामा सञ्चालित किशाेरी मातृ तथा नवजात शिशु परियोजनाले किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य र मातृ तथा नवजात शिशुको स्वास्थ्यबारे जनचेतना अभिबृद्धि गर्न सिफ्ट अभियान सञ्चालन गरिरहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्