२०८३ भदौ १० , बुधबार

बराहतालमा शिक्षा सुधारका सवालमाथि सार्वजनिक सुनुवाई सम्पन्न



सुर्खेत । बराहताल गाउँपालिका–५ मा शिक्षा क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे सार्वजनिक सुनुवाई तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) जिल्ला समन्वय समिति, सुर्खेत र NCE Nepal Youth Constituency, सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमको नारा ‘गुणस्तरीय शिक्षा, हामी सबैको अधिकार’ रहेको थियो ।
कार्यक्रममा बराहताल गाउँपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षाको गुणस्तर, विद्यालयको भौतिक तथा शैक्षिक वातावरण, समावेशी शिक्षा, विद्यार्थीको पहुँच र सहभागिता, विद्यालय व्यवस्थापन तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे सरोकारवालाबीच प्रत्यक्ष प्रश्नोत्तर र छलफल गरिएको थियो ।
शिक्षा क्षेत्रका २५ वटा सूचकलाई आधार बनाएर सञ्चालन गरिएको सार्वजनिक सुनुवाईमा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यालय व्यवस्थापन समिति (एसएमसी), शिक्षक–अभिभावक संघ (पीटीए), युवा, अपाङ्गता भएका व्यक्ति, GIEN नेटवर्कका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता थियो ।
सहभागीहरूले शिक्षा क्षेत्रको सुधारसँग सम्बन्धित विभिन्न प्रश्न उठाएका थिए। विशेषगरी शिक्षाको गुणस्तर र पहुँच, विद्यालयको भौतिक तथा शैक्षिक वातावरण, समावेशी शिक्षा, विद्यार्थीको नियमितता र सिकाइ उपलब्धि, शिक्षक व्यवस्थापन, विद्यालय व्यवस्थापन, अभिभावकको सहभागिता तथा स्थानीय तहको भूमिका विषयमा छलफल केन्द्रित भएको थियो ।
उठेका प्रश्नको जवाफ दिँदै जनप्रतिनिधि, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षका प्रतिनिधिले शिक्षा सुधारका लागि भइरहेका प्रयास, विद्यमान समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारबारे धारणा राखेका थिए। सहभागीहरूले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय तह, विद्यालय, अभिभावक, युवा र समुदायबीच थप सहकार्य तथा समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगर प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। वडा नं. ५ का वडा अध्यक्ष तथा शिक्षा समितिका संयोजक धीमराज जोल्मी मगरले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
NCE सुर्खेतका सचिव टीकाराम आचार्यले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। NCE युथका अध्यक्ष सागर शाहीले प्रश्नोत्तर तथा छलफल सहजीकरण गरेका थिए भने गणेश खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।
सार्वजनिक सुनुवाईले शिक्षा क्षेत्रमा देखिएका समस्या र सवाललाई प्रत्यक्ष रूपमा सरोकारवालासमक्ष उठाउने तथा सम्बन्धित पक्षबाट जवाफ र धारणा लिने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा उठेका प्रश्न, सुझाव र छलफलका विषयलाई आगामी दिनमा शिक्षा सुधारको योजना तथा कार्यान्वयनमा समेट्नुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रम NCE Nepal केन्द्र, युरोपियन युनियन (EU), Global Action Nepal (GAN) तथा नेपाल अपाङ्ग महिला संघको सहयोग तथा सहकार्यमा सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार
अरु पनि पढ्नुहोस्