कर्णाली प्रदेशले बिहीबार १२औँ स्थापना दिवस मनाएको छ । कर्णाली प्रदेश, लामो आन्दोलन र संघर्षपछि स्थापना भएको हो । स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बाेधन गर्दै प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त क्षेत्रका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको उपेक्षाका कारण कर्णाली पछाडि परेको बताए ।
सोचमा परिवर्तन नआएसम्म कर्णालीको मानक माथि उठ्न नसक्ने जोशीको भनाइ थियो । दैलेखमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना पुष्टि भइसकेकाले यसको उत्खननमा संघीय सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने जोशीले बताए । पछिल्ला दुई वर्षदेखि थप उत्खननका काम रोकिएको भन्दै उनले तत्काल प्रक्रिया अघि बढाउन संघीय सरकार जिम्मेवार बन्नुपर्ने बताए । पछिल्लो समय देखिएको ग्यास अभावबाट पाठ सिकेर कर्णालीमा रहेका प्राकृतिक स्रोतको उपयोगलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । कर्णालीमा रहेका स्रोतको सदुपयोग गर्न सके प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सकिने उनले बताए ।
स्थापना दिवसका अवसरमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाए । कँडेलले जेन–जी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापन तथा शासन सञ्चालनको शैलीप्रति समेत प्रश्न उठाउँदै सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताए । मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीको वास्तविक अवस्था बदल्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । कर्णालीको समृद्धि सबैको साझा प्रयासबाट मात्रै सम्भव हुने भन्दै उनले सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए ।
२३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक गरेपछि त्यसको विरोधमा कर्णालीमा आन्दोलन चर्किएको थियो ।प्रदेश प्राप्तिको आन्दोलनमा चार जनाले ज्यान समेत गुमाएका थिए । साेहिदिनकाे सम्झनामा कर्णाली सरकारले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसका अवसरमा बिहीबार कर्णाली प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्