सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासम्बन्धी निस्सा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सहजीकरण समितिको मंगलबार बसेको बैठकले पहिलो चरणमा चार वडाका ३८ जना भूमिहीनलाई निस्सा वितरण गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष एवं सहजीकरण समितिका संयोजक ऐनबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर २, ३, ४ र ५ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा निस्सा वितरण गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार वडा नम्बर ५ मा भदौ ५ गते तथा वडा नम्बर २, ३ र ४ मा भदौ ९ गते निस्सा वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
बैठकले अन्य वडा कार्यालयलाई आवश्यक तथा अपुग कागजातसहित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण भदौ १५ गतेभित्र गाउँपालिकामा पठाउनसमेत आह्वान गरेको छ।
त्यसैगरी छुटेका लाभग्राहीको लगत संकलन गर्ने कार्य भदौ मसान्तसम्म सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। गाउँपालिकाले छुटेका वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई समेटेर प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्