२०८३ भदौ १० , बुधबार

जाजरकोटमा कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्यु



जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका ३२ वर्षीय औषधि व्यवसायी दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाकाे भेरी नगरपालिका–१० नुवागाउँमा साउन २५ गते राति करिब ९ बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दैलेखको नारायण नगरपालिका–२ स्थायी घर भएका थापा हाल जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्रीसहितको समूहले कुटपिट गरेपछि थापा गम्भीर घाइते भएका थिए।

घाइते थापालाई सुरुमा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्र खत्री, निरज रोकाय, शिशिर योगी गोसाई, लक्ष्मण रोकाय र बिनोद गोसाई रहेका छन्।पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा जाजरकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार
अरु पनि पढ्नुहोस्