
सुर्खेतको वीरेन्द्रनगरमा अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान र विकास केन्द्रको आयोजनामा एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय आदिवासी महिला सञ्जाल (FIMI)को आर्थिक सहयोग तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
संस्थाले सुर्खेतका चार वटा स्थानीय तहमा स्वावलम्बन समूह (सेल्फ हेल्प ग्रुप) गठन गरी काम गरिरहेको छ। जिल्लाकाे बराहताल गाउँपालिकामा १, गुर्भाकोट नगरपालिकामा २, वीरेन्द्रनगर नगरपालिकामा २ र लेकबेँसी नगरपालिकामा २ गरी ७ वटा स्वावलम्बन समूह गठन गरिएको संस्थाकी बोर्ड सदस्य रत्ना रानाले जानकारी दिइन्।
तालिममा स्वावलम्बन समूहमा किन बस्ने, बैठकका लागि पूर्वतयारी कसरी गर्ने, बैठक सञ्चालन गर्ने तरिका, माइन्युट लेख्ने, निर्णय गर्ने प्रक्रिया तथा समूहमा सदस्यहरूको भूमिका र जिम्मेवारीलगायतका विषयमा जानकारी गराइएको छ।
यस्तै, संस्थाले गर्दै आएका काम तथा गतिविधिका साथै समूहमा आबद्ध सदस्यहरूको सीप र क्षमताअनुसार आयआर्जनमूलक गतिविधि सञ्चालन गर्दै स्वावलम्बी कसरी बन्न सकिन्छ भन्नेबारेमा समेत जानकारी गराइएको थियो।
तालिम पश्चात् बैठक सञ्चालनका लागि आवश्यक माइन्युट, पेनलगायतका सामग्री हस्तान्तरण गर्दै, तालिमले आगामि दिनमा समूह सञ्चालन, बैठक व्यवस्थापन, निर्णय प्रक्रिया तथा आयआर्जन र आत्मनिर्भरताका लागि आवश्यक ज्ञान तथा सीपमा सहयोग पुग्ने अपेक्षा गरिएकाे छ।
प्रतिक्रिया दिनुहोस्