२०८३ भदौ १० , बुधबार

वीरेन्द्रनगरमा डेंगु संक्रमण तीव्र, नियन्त्रणका लागि नगरपालिकाकाे योजना के छ?




सुर्खेत । सुर्खेतमा यस वर्ष देखिएका डेंगु संक्रमितमध्ये झण्डै ८७ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाका मात्रै रहेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर डेंगुको सबैभन्दा बढी प्रभावित स्थानीय तह बनेको हो।
स्वास्थ्य कार्यालय सुर्खेतका अनुसार यस वर्ष जिल्लाभर २ हजार २०७ जनामा डेंगु संक्रमण पुष्टि हुँदा वीरेन्द्रनगरमा मात्रै १ हजार ९२३ जना संक्रमित भएका छन् । नगरभित्र डेंगुको संक्रमण बढ्दै गएपछि नगरपालिकाले रोकथाम तथा नियन्त्रणका लागि खोज र नष्ट अभियानलाई तीव्रता दिने भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ३, ४, ६, ७ र ११ डेंगुको बढी जोखिममा रहेको नगरपालिकाले जनाएको छ । ती वडामा सचेतनामूलक कार्यक्रमसँगै लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने नगर प्रमुख मोहनमाया ढकालले बताइन ।

“डेंगुबाट बच्ने प्रमुख उपाय नै सचेतना र लामखुट्टेको बासस्थान नष्ट गर्नु हो,” उनले भिनन, “नगरका सबै वडामा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाइनेछ ।”
नगरपालिकाले गत वर्षदेखि नै नगर अस्पताल र लाटिकोइली स्वास्थ्य चौकीमा डेंगुको निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । तर, निःशुल्क परीक्षणको सुविधा रहेकोबारे कतिपय नगरवासीलाई जानकारी नभएको भन्दै नगर प्रमुख ढकालले ती स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन आग्रह गरिन ।
उनका अनुसार डेंगुको सम्भावित तथा प्रभावित क्षेत्र पहिचान गरी नियन्त्रणका लागि आवश्यक उपाय अपनाइनेछ ।
नगर स्वास्थ्य प्रमुख भूपेन्द्रदेव गिरीका अनुसार वीरेन्द्रनगरमा डेंगुसँगै स्क्रब टाइफसका २२५ र औलोका २२ जना संक्रमित रहेका छन् । डेंगु नियन्त्रणका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
नगरपालिकाले सबै वडामा सचेतनामूलक ब्यानर राख्नुका साथै लामखुट्टेको सम्भावित बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरेको गिरीले जानकारी दिए। स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट खरिद गरी वितरण गरिएको तथा समुदायका आमा समूह, युवा क्लब, टोल विकास संस्था र विद्यालयमा डेंगुका लक्षण, रोकथाम तथा बच्ने उपायबारे जानकारी दिइएको उनले बताए।

शुक्रबार कार्यालयमा आयोजित अन्तरक्रिया

डेंगु नियन्त्रणका लागि नियमित रूपमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्ने जनस्वास्थ्य कार्यालय सुर्खेतका उदय विसीले बताए । उनले लामखुट्टेले अण्डा पार्ने स्थान नष्ट गर्न ठूलो आर्थिक स्रोत आवश्यक नपर्ने भएकाले समुदायको सहभागितामा अभियान प्रभावकारी बनाउन सकिने उनले बताए ।
पुराना भाँडा, टायर, ड्रमलगायतका वस्तुमा पानी जम्न नदिन र घर वरपरको वातावरण सफा राख्न उनले आग्रह गरे ।
प्रदेश अस्पतालका डा. केएन पौडेलले डेंगुबाट बच्न पर्याप्त झोलिलो पदार्थ सेवन गर्न सुझाव दिए । उनले डेंगुका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन पनि आग्रह गरे ।
शुक्रबार नगरपालिकामा डेंगु रोकथामका विषयमा आयोजित कार्यक्रममा सहभागीहरूले रोगका लक्षण, परीक्षण, उपचार तथा नियन्त्रणका उपायबारे स्वास्थ्यकर्मीहरूसँग जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार
अरु पनि पढ्नुहोस्