२०८३ भदौ १० , बुधबार

युवा शिक्षाका सवालमा सुर्खेतमा नीति संवाद, समावेशी र गुणस्तरीय शिक्षामा जोड




सुर्खेत । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को सन्दर्भमा सुर्खेतमा ‘युवा शिक्षामा नीति संवाद’ कार्यक्रम सम्पन्न भएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कर्णालीमा युवाको शिक्षा, अवसर, पहुँच र समावेशिताका विषयमा छलफल गरिएको हो।
<span;>शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल, कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा ‘Policy Dialogue on Youth Education Province Priorities & Gaps’ विषयमा नीति संवाद गरिएको थियो। कार्यक्रममा शिक्षा क्षेत्रका सरोकारवाला, विभिन्न संघ–संस्था, नागरिक समाज संस्था तथा युवा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विष्णुकुमार खड्काले कार्यपत्र प्रस्तुत गर्दै कर्णालीका युवाको शिक्षामा देखिएका प्राथमिकता, चुनौती र विद्यमान नीतिगत खाडलका विषयमा धारणा राखेका थिए। उनले युवाको बदलिँदो आवश्यकता र शिक्षाबीचको सम्बन्धलाई ध्यान दिँदै शिक्षा नीतिमा पहुँचसँगै गुणस्तर, सीप, रोजगारी र समावेशितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर चालिसेले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज र युवाबीच सहकार्य आवश्यक रहेको बताए । उनले नीति निर्माण तहमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै युवाका सवाललाई नीति तथा बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखे।
छलफलका क्रममा सहभागी युवा तथा नागरिक समाजका प्रतिनिधिहरूले शिक्षामा समान पहुँच, गुणस्तरीय शिक्षा, सीपमूलक तथा व्यावसायिक शिक्षा, अपाङ्गता भएका युवाका लागि समावेशी शिक्षा, ग्रामीण तथा दुर्गम क्षेत्रका युवाको शैक्षिक अवसर र शिक्षापछि रोजगारीको सुनिश्चितताका विषय उठाएका थिए ।
सहभागीहरूले शिक्षा क्षेत्रमा राज्यले लगानी बढाए पनि त्यसको प्रभाव समान रूपमा सबै युवा समूहसम्म पुग्न नसकेको भन्दै लक्षित समुदायका आवश्यकता पहिचान गरी कार्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरूले नीति निर्माण तथा कार्यान्वयनको प्रक्रियामा युवाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिएका थिए ।
<span;>कार्यक्रमको अन्त्यमा शिक्षाका लागि राष्ट्रिय अभियान, कर्णाली प्रदेश समितिका अध्यक्ष भूपेन्द्र कँडेलले धन्यवाद मन्तव्य व्यक्त गर्दै युवाका शिक्षा सम्बन्धी सवाललाई निरन्तर नीति बहसको विषय बनाउनुपर्ने बताए ।
<span;>विहीबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागीहरूले कर्णालीका युवाका लागि शिक्षा प्रणालीलाई थप समावेशी, गुणस्तरीय, सीपमूलक र अवसरमुखी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्