सुर्खेत । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गीरह नजिकै यात्रुबाहक जिप भेरी नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा परेका दुई जना भने पौडी खेलेर सकुशल नदीबाट बाहिर निस्कन सफल भएका छन् ।
बुधबार दिउँसो करिब २ बजेको समयमा बालुवा संग्रहीबाट सल्लीबजारतर्फ आउँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप जाजरकोट–छिन्चु सडकखण्डअन्तर्गत लहरे बगर नजिकै अनियन्त्रित भई भेरी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपमा चालकसहित चार जना सवार थिए । दुर्घटनापछि दुई जना पौडी खेलेर नदीबाट बाहिर निस्किएका छन् भने जिप चालक र जिपधनी नदीमा बेपत्ता भएका छन् ।
बेपत्ता चालक र जिपधनीको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । दुर्घटनामा परेको जिपसमेत भेरी नदीमा डुबेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेका पत्रकार दुर्गा विसीका अनुसार अनुसार उक्त जिप सल्लीबजार–खैरागार–सागिने–खार्वन क्षेत्रमा सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्