सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा एक पुरुषले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ४९ वर्षीय जयबहादुर रानाले मंगलबार साँझ करिब ५ बजे आफ्नी ५० वर्षीया श्रीमती महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगो लागेको उनकी १८ वर्षीया छोरी पुष्पा रानाले देखेपछि तत्काल निभाएकी थिइन् ।
आगोले महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा जलेको छ। कर्णाली प्रदेश अस्पताल कालागाउँमा गरिएको प्रारम्भिक उपचार तथा परीक्षणका क्रममा उनको शरीरको करिब ३५–३६ प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको चिकित्सकले बताएका थिए ।
घटनालगत्तै महेश्वरीलाई साँझ ६ः१५ बजे कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो । थप उपचार आवश्यक भएपछि उनलाई साँझ ६ः४० बजे नेपालगञ्ज रिफर गरिएको थियो।
उनलाई राति १०ः३० बजे भेरी अस्पताल नेपालगञ्ज पुर्याइएकाेमा थप उपचारका लागि राति ११ः३० बजे उनलाई भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी रामघाटबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले आगो लगाएको आरोप लागेका जयबहादुरलाई साँझ ६ः५० बजे कर्णाली प्रदेश अस्पताल परिसरबाट नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्