२०८३ भदौ १० , बुधबार

सामाजिक अध्ययनको नयाँ पाठ्यक्रम १२ कक्षा सम्म लागू हुने



शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।
केन्द्रले सोमबार जारी गरेको सूचना अनुसार कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको स्वीकृत पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १० र १२ कक्षाका नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा ल्याइने भएको छ।
उक्त पाठ्यपुस्तकहरू पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ को सिफारिस र तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत भएका हुन्। यसैगरी प्रारम्भिक बालविकास तथा शिक्षा र आधारभूत तह (कक्षा १–३) मा समेत परिमार्जित पाठ्यक्रम २०८२ लागू गरिने भएको छ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको सिफारिस र शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ को निर्णयानुसार आधारभूत तह (१–३) र प्रारम्भिक बालविकासको परिमार्जित पाठ्यक्रम २०८२ लाई शैक्षिक सत्र २०८४ देखि नै कार्यान्वयनमा ल्याउन लागिएको हो।
सूचनामा देशभरका सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र सम्बन्धित सरोकारवालाहरूलाई सो निर्णयबमोजिम नयाँ पाठ्यपुस्तक तथा पाठ्यक्रम कार्यान्वयन गर्न र गराउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार
अरु पनि पढ्नुहोस्