२०८३ भदौ १० , बुधबार
भिडियो रिपाेर्ट

साउनको मध्यसम्म वर्षा नहुँदा सिम्ताका खेत बाँझै, किसान चिन्तित



सुर्खेत ।

साउनको मध्यसम्म पनि पर्याप्त वर्षा नहुँदा सुर्खेतको सिम्ता गाउँपालिकामा धान रोपाइँ प्रभावित बनेको छ। आकासे पानीमा निर्भर अधिकांश खेत अझै रोप्न बाँकी छन् भने लगाइएका मकै र अन्य बर्खेबालीसमेत सुक्न थालेका छन्। कृषि नै मुख्य आयस्रोत भएका किसानहरू उत्पादन घट्ने र त्यसको असर खाद्य सुरक्षासम्म पुग्ने चिन्तामा छन्।

सिम्ताका अधिकांश किसानले आकासे पानीकै भरमा खेती गर्दै आएका छन्। विशेषगरी वडा नम्बर ५, ६ र ७ का बढी धान उत्पादन हुने फाँटमा अझै पनि उल्लेख्य क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। विगतमा राम्रो उत्पादन हुने यी क्षेत्रमा पछिल्ला केही वर्षदेखि अनियमित वर्षाका कारण खेतीपाती प्रभावित हुँदै आएको किसानहरूको भनाइ छ। भेरी नदी नजिकै भए पनि सिँचाइको व्यवस्था नहुँदा नदीको पानीसमेत उपयोग गर्न नसकिएको उनीहरूको गुनासो छ।

गाउँपालिकाका अनुसार हालसम्म करिब ६८ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ भने अझै ३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ। जलवायु परिवर्तनको असरले वर्षा अनियमित बन्दा समग्र खेती प्रणाली नै प्रभावित भएको गाउँपालिकाको निष्कर्ष छ। सिँचाइ विस्तारका लागि प्रयास भइरहे पनि स्थानीय तहको मात्रै स्रोत र साधनले समस्या समाधान गर्न कठिन रहेको गाउँपालिकाको भनाइ छ।

कृषि नै मुख्य पेशा र आयआर्जनको आधार रहेको सिम्तामा समयमा वर्षा नहुँदा किसानको वर्षभरिको उत्पादन जोखिममा परेको छ। किसानहरूले दीर्घकालीन सिँचाइ पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न माग गरेका छन्। पर्याप्त वर्षा नभए यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउने र त्यसको असर स्थानीय खाद्य सुरक्षामा समेत पर्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार
अरु पनि पढ्नुहोस्