२०८३ भदौ १० , बुधबार

जलवायू परिवर्तनकाे मारमा अपाङ्गता भएका व्यक्ति



सुर्खेत । जलवायू परिवर्तनकाे सबैभन्दा बढी असर अपाङ्गता भएका व्यक्तिहरूले भाेग्नुपरेकाे एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला अनुसन्धान तथा विकास केन्द्र, कर्णाली प्रदेश,सुर्खेतको आयोजना र निडवनको सहयोग तथा समन्वयमा शनिवारदेखि वीरेन्द्रनगरमा सुरु भएको दुईदिने संवाद कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन ।
संवाद कार्यक्रमकाे उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले अपाङ्गतामैत्री पूर्वाधार निर्माण र सेवामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा नगरपालिकाले यस विषयमाकाम गर्ने संस्थासंग सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी केन्द्रीय अध्यक्ष डा. प्रतिमा गुरुङले प्राकृतिक विपद्का बेला अपाङ्गता भएका व्यक्तिहरू अन्य व्यक्तिको तुलनामा चार गुणासम्म बढी जोखिममा पर्ने बताइन । उनले जलवायु परिवर्तनलाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्नुपर्नेमा जाेड दिइन ।
कार्यक्रममा निडवनका कर्णाली प्रदेश सल्लाहकार कृष्ण गहतराजले कर्णालीमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन भइरहेको जानकारी दिए ।
उनले निडवनले अपाङ्गभएका व्यक्तिहरुमा जलवायू सम्बन्धी न्यूनतम जानकारी गराउन आवश्यक रहेको भन्दै संस्थाले यस वर्षदेखि अपाङ्गता समावेशि जलवाय’ क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताए ।
यस्तै राष्ट्रिय अपाङ्ग महासंघ, कर्णाली प्रदेशका निर्देशक आनन्दबहादुर विष्टले जलवायु परिवर्तनका लागि अपाङ्गता भएका व्यक्ति कम जिम्मेवार भए पनि यसको सबैभन्दा ठूलो असर अपाङ्गता भएका व्यक्तिहरूले नै भोगिरहेको भन्दै समावेशी नीति र व्यवहारको आवश्यकता रहेको औंल्याए ।
दुई दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रममा जलवायु परिवर्तनको असर, विपद् जोखिम न्यूनीकरण तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारबारे सुझाव संकलन गरिने राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला अनुसन्धान तथा विकास केन्द्र, कर्णाली प्रदेश,सुर्खेतकी सचिब संगिता मगरले जनाकारी दिइन् ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार
अरु पनि पढ्नुहोस्