
सुर्खेत, १५ साउन ।
सिम्ता गाउँपालिकामा ग्रामीण तथा सहरी आर्थिक सुदृढीकरणका लागि स्थानीय हाट बजार सञ्चालनलाई प्राथमिकतामा राख्दै स्थानीय सरकार, वित्तीय संस्था र निजी क्षेत्रबीच सामुदायिक संवाद सम्पन्न भएको छ।
सुशासन प्रवर्द्धनका लागि युवा, सुर्खेतको आयोजना तथा हेल्भेटास नेपालको हाम्रो सहर परियोजनाको सहयोगमा शुक्रबार जामुनेबजारमा आयोजित ‘ग्रामीण सहरी आर्थिक सुदृढीकरण, स्थानीय हाट बजार सञ्चालन र बजार सरसफाइ व्यवस्थापन तथा साझेदारीको सम्भावना’ विषयक संवाद कार्यक्रममा हाट बजार सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको हो।
कार्यक्रममा सिम्ता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कृषि विकास कार्यालय सुर्खेतका कार्यालय प्रमुख र स्थानीय उद्योग वाणिज्य संघ लगायत स्थानीय जनप्रतिनिधि, निजी क्षेत्र, वित्तीय संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
संवादका क्रममा स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नियमित हाट बजार सञ्चालन अपरिहार्य रहेकोमा सहभागीहरूले जोड दिएका थिए। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने, उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने तथा स्थानीय व्यापारलाई चलायमान बनाउन हाट बजार प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा भएका छलफलका आधारमा हाट बजार सञ्चालनका लागि चालु आर्थिक बर्षको पहिलो कार्यपालिका बैठकबाट आवश्यक निर्णय गराई कार्यान्वयन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
यस्तै, हाट बजार सञ्चालन तथा व्यवस्थापनमा सार्बजनिक नीजि साझेदारी अवधारणाअनुसार स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य गर्ने सहमति भएको छ।
स्थानीय कृषि उत्पादन तथा अन्य वस्तुको उत्पादन बढाएर बजारीकरणमा जोड दिँदै रोजगारी सिर्जना गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा किसानको आयआर्जन वृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
बजार सञ्चालनसँगै बजार सरसफाइ व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने र त्यसका लागि सार्वजनिक तथा निजी क्षेत्रको साझेदारीमा स्रोत परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
त्यसैगरी, निजी क्षेत्रबाट व्यापार व्यवसाय गर्न इच्छुक युवा तथा उद्यमीलाई आवश्यक सहयोग, सहजीकरण र लगानीमैत्री वातावरण निर्माणमा गाउँपालिकाले भूमिका खेल्ने तथा व्यवसाय सञ्चालनका क्रममा आउने प्रशासनिक जटिलता समाधानका लागि सम्बन्धित कार्यालयहरू सहयोग गर्न तयार रहेको सरोकारवालाहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ऐनबहादुर चन्दले सिम्ताको आर्थिक विकासका लागि हाट बजार सञ्चालन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्न गाउँपालिकाले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गर्ने बताए।
उपाध्यक्ष गोमा शर्मा रेग्मीले महिला, किसान र साना उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने गरी हाट बजार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बजार व्यवस्थापन, सरसफाइ र सहभागितामूलक सञ्चालनमा गाउँपालिकाले विशेष ध्यान दिने बताइन्।
कृषि विकास कार्यालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले उत्पादन वृद्धि मात्र नभई बजारको सुनिश्चितता पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै किसानको उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्न स्थानीय तह, निजी क्षेत्र र कृषि कार्यालयबीच समन्वय आवश्यक रहेको धारणा राखे।
उद्योग वाणिज्य संघ सिम्ताका गंगा ढकालले अध्यक्षले निजी क्षेत्र हाट बजार सञ्चालन, व्यवस्थापन तथा स्थानीय उत्पादनको बजारीकरणमा सहकार्य गर्न तयार रहेको बताउँदै सार्वजनिक–निजी साझेदारीबाट मात्रै स्थानीय अर्थतन्त्रलाई दिगो रूपमा चलायमान बनाउन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले संवादमा व्यक्त भएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै नियमित हाट बजार सञ्चालन, सरसफाइ व्यवस्थापन र साझेदारीको मोडेल विकास गर्न सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेका छन । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले गरेका थिए भने परियोजना संयोजक खगेन्द्र सिजापतीले कार्यक्रमको उधेश्य बारे जानकारी गराएका थिए ।
करिब पाँच बर्ष अघि सिम्ता ७ गोजीखाेलामा निर्माण गरिएको स्थानीय कृषि हाट बजार हालसम्म सञ्चालन छैन । तत्कालीन कृषि विकास निर्देशनालय सुर्खेतको सहयोगमा निर्माण गरिएको हाट बजार सञ्चालनका लागि स्थानीय तामाचुली कृषि सहकारीबाट सञ्चालन गर्ने सम्झाैता भएपनि सहकारीले सञ्चालन गर्न नसकेपछि हाट बजार व्यवस्थापन समिति गठन गरिएकाे थियो । समितिबाट समेत सञ्चालन गर्न नसकेपपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । हाल गाउँपालिकाकाे स्वामित्वमा रहेको उक्त हाट बजार अब चाँडै सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्