२०८३ भदौ ११ , बिहीबार

कर्णालीमा प्रदेशस्तरीय युवा सरोकार सञ्जाल गठन, युवा सवालमा पैरवी गर्ने




सुर्खेत । कर्णाली प्रदेशका युवाको साझा आवाजलाई संगठित गर्दै नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले प्रदेशस्तरीय युवा सरोकार सञ्जाल गठन गरिएको छ। सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको सहजीकरणमा विहीबार कर्णाली प्रदेशका दशवटै जिल्लाका युवाको सहभागितामा १३ सदस्यीय प्रदेशस्तरीय युवा सरोकार सञ्जाल गठन गरिएको हो।

सञ्जालको संयोजकमा जुम्लाकी आसिका बुढा चयन भएकी छन्। कानुन विषय अध्ययनरत बुढाले युवाका अधिकार, सुशासन, समावेशी सहभागिता तथा सार्वजनिक सरोकारका विषयमा विभिन्न माध्यमबाट वकालत र पैरवी गर्दै आएकी छन्। त्यसैगरी सहसंयोजकमा कालिकोटका अकिन्द्र दर्जी र सचिवमा दैलेखका भरत शाही चयन भएका छन्। सञ्जालमा कर्णाली प्रदेशका सबै दश जिल्लाका युवाको प्रतिनिधित्व रहेको जनाइएको छ।

नवनिर्मित सञ्जालले कर्णालीका युवासँग सम्बन्धित साझा मुद्दाको पहिचान गरी त्यसलाई स्थानीय, प्रदेश तथा संघीय तहसम्म प्रभावकारी रूपमा उठाउने जनाएको छ। युवाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने, युवामैत्री नीति, योजना तथा बजेट निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद, बहस, वकालत र पैरवी गर्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ।

त्यसैगरी युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, सामाजिक उत्तरदायित्व, पारदर्शिता तथा जवाफदेहिताका विषयमा सचेतनामूलक अभियान सञ्चालन गर्ने, विभिन्न जिल्लाका युवाबीच अनुभव आदान–प्रदान तथा सहकार्यको वातावरण सिर्जना गर्ने, रोजगारी, उद्यमशीलता, शिक्षा, सीप विकास, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, डिजिटल सशक्तीकरण तथा सामाजिक समावेशितासँग सम्बन्धित मुद्दामा साझा पहल गर्ने लक्ष्य सञ्जालले लिएको छ।

सञ्जालले प्रदेशभरका युवालाई एकीकृत गर्दै उनीहरूको आवाजलाई सार्वजनिक नीति निर्माण प्रक्रियासँग जोड्ने, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै युवाको हितमा कार्यक्रम सञ्चालन गर्ने तथा युवासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा नियमित रूपमा निगरानी, सुझाव र रचनात्मक दबाब सिर्जना गर्ने जनाएको छ।

सञ्जाल गठनसँगै कर्णालीका युवाको साझा आवाजलाई संस्थागत गर्दै प्रदेशको विकास, सुशासन प्रवर्द्धन र समावेशी नीति निर्माण प्रक्रियामा युवाको प्रभावकारी भूमिका सुनिश्चित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार
अरु पनि पढ्नुहोस्