
सुर्खेत ।
जलवायु परिवर्तन र जलवायु वित्तसम्बन्धी प्रदेशस्तरीय तीनदिने तालिम आजदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय तथा वन तथा वातावरण मन्त्रालयको आयोजना, कर्णाली प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वय प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयूसीएन )द्वारा सञ्चालित जिसिएफ रेडिनेश कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो ।
तालिममा कर्णाली प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी छन् ।
हरित जलवायु कोष (Green Climate Fund–GCF) सम्बन्धी कार्यक्रम सञ्चालन प्रक्रिया, परियोजना अवधारणा निर्माण, सरोकारवाला संलग्नता तथा सुरक्षासम्बन्धी उपायबारे सहभागीहरूलाई जानकारी गराउनु कार्यक्रमको उधेश्य रहेको आइयूसीएनका अमित पौडेलले जानकारी दिए ।
तालिमको उद्घाटन सत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णालीका सचिव अजित कुमार कर्णले कर्णाली प्रदेश हिमताल फुट्नेदेखि बाढी पहिरो, वन डढेलोको उच्च जोखिममा रहेको बताए । तालिमले त्यस्ता असर कम गर्नका लागि आवश्यक परियोजना निर्माण गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत विज्ञान, वातावरण तथा जलवायु परिवर्तन महाशाखाका प्रमुख रमेश कुमार गिरीले कलाइमेट इकोनोमीलाई कसरी प्रदेश र स्थानीय तहमा ल्याउन सकिन्छ भन्ने विषयमा क्षमता विकास हुने अपेक्षा गरिएको बताए ।
आजदेखि सुरु भएको तालिम फागुन २९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्