२०८३ असार १ , सोमबार

राकममा वस्तीस्तरबाट योजना छनोट, युवा लक्षित कार्यक्रम प्राथमिकतामा



सुर्खेत । सिम्ता गाउँपालिका–६ को राकमटोलमा आर्थिक वर्ष २०८३/८४ का लागि विकास योजना तथा कार्यक्रम छनोट गर्न बस्तीस्तरीय योजना तर्जुमा भेला सम्पन्न भएको छ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार नागरिकको आवश्यकता र प्राथमिकतामा आधारित योजना निर्माण गर्ने उद्देश्यले आयोजित भेलाबाट सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, कृषि उत्पादन वृद्धि, युवा सशक्तीकरण तथा सामुदायिक पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न योजनाहरू प्रस्ताव गरिएको छ।
वडा अध्यक्ष गुलाव सिंहको अध्यक्षतामा सम्पन्न भेलाले सडक सुधार, सिँचाइ पोखरी निर्माण, सार्वजनिक जिम, खेल मैदान, जेब्रा क्रसिङ, सार्वजनिक शौचालय निर्माण, उन्नत जातका बोका तथा राँगा वितरण, बेमौसमी तरकारी खेती प्रवर्द्धन, माटो परीक्षण, महिलाका लागि सिलाइकटाइ तालिम तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

टोल विकास संस्था, आमा समूह, युवा समूह, ज्येष्ठ नागरिक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको भेलामा बस्तीका समस्या, आवश्यकता र विकासका सम्भावनाबारे छलफल गर्दै आगामी वर्षका लागि आवश्यक योजना पहिचान गरिएको थियो।
प्रस्तावित योजनाहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा छनोट गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने वडा अध्यक्ष सिंहले बताए। उनले बस्तीस्तरबाट प्राप्त सुझावलाई गाउँपालिकाको वार्षिक योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिने जानकारी दिए।

हेल्भेटास नेपालको सहयोगमा सञ्चालित ‘हाम्रो सहर परियोजना’ अन्तर्गत सुशासन प्रवर्द्धनका लागि युवा संस्थाका परियोजना संयोजक खगेन्द्र सिजापतिले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक घनश्याम केसीले बस्तीस्तरीय योजना तर्जुमा प्रक्रिया स्थानीय तहको कानुनी दायित्व भएको उल्लेख गर्दै नागरिक सहभागिताले योजना निर्माणलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने बताए।
भेलामा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी युवाहरूले खेलकुद पूर्वाधार, रोजगारी सिर्जना, सीप विकास, डिजिटल साक्षरता तथा युवा लक्षित कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने माग गरेका छन्। उनीहरूले समुदायबाट छनोट भएका योजनाहरूको कार्यान्वयनमा समेत जोड दिएका छन्।

प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार
अरु पनि पढ्नुहोस्